बन्दीपुरका चाडपर्व
बन्दीपुरका धेरैजसो नेवारहरुको पुर्ख्यौलि थलो भक्तपुर भएकाले भक्तपुरमा मनाईने धेरै जात्रा र पर्वहरु यहाँ पनि मनाईन्छ । विभिन्न महिनामा मनाईने चाड पर्वहरु निम्नानुसार छन् ।
बैशाख (अप्रिलमे)
बिस्केट जात्रा
बन्दीपुरमा मनाईने जात्राहरु मध्ये बिस्केट जात्रा सबैभन्दा महत्वपुर्ण जात्रा हो । जात्राको मुख्य दिन विन्दवासिनी देवीको मुर्तीलाई खटमा हालेर बजार परिक्रमा गराईन्छ । यो परिक्रमाको शुरुवातमा देवीलाई जनावरको बली चढाउने चलन छ । यो परिक्रमाको अन्त्यमा विन्दवासिनी देवीको गजुरबाट पैसा खसालीन्छ र बच्चाहरुमाझ त्यो पैसा टिप्न होडबाजी चल्दछ ।
वैशाख पुर्णिमा
बैशाख पुर्णिमाको दिन बन्दीपुरका मगरहरुद्वारा उनीहरुको अत्यन्त चर्चित र पारम्परिक घाटु नाच देखाईन्छ । साथै उक्तदिन चण्डीथानमा दुई कन्या केटीहरुको अगुवाईमा धार्मिक अनुष्ठान पनि हुन्छ । उक्त अनुष्ठान पश्चात स्थानिय युवाहरु नाच गान गरेर रमाईलो गर्दछन् ।
पुतली च्वय
यो पर्व नेपाली क्यालेन्डरको पहिलो दिन मनाईन्छ । यो पर्वको सम्पुर्ण तयारी यहाँका कन्या केटीहरुबाट हुन्छ । शुरुमा दुईवटा पुतली प्रदर्शन पश्चात विशेष भोज गरिन्छ । नव वर्षको दिन ती पुतलीहरुलाई पातको किश्तीमा राखेर गाउँका केटाहरुले यात्रा निकाल्छन् । नयाँ लुगामा सजिएका किशोरीहरु गीत गाउँदै त्यो जुलुशको पछि लाग्छन् । केटाहरु भने केटीहरुलाई अगाडी बढ्न रोक्न खोज्दछन् र बाटो छोड्न पैसाको माग गर्दछन् जुन कार्यले यो पर्वमा रोमान्चकता थप्दछ । यो यात्रा दुई पुतलीको विहेको जन्तीको रुपमा अघि बढ्छ । नदीमा पुगेपछि दुई पुतलीलाई विधिपुर्वक नदीमा सेलाईन्छ र सहभागीहरु गीत गाउँदै फर्कन्छन् र विशेष भोजमा सरिक हुन्छन् ।
जेष्ठ (जुनजुलाई)
सिठी नखः
यो पर्वमा विभिन्न उत्कृष्ट परिकारहरु जस्तो चटामरी, गोजामरी र मयमरी को मज्जा लिईन्छ । यो दिन पानीका मुहानहरु सफा गर्ने काम पनि गरिन्छ ।
आषाढ (जुनजुलाई)
असार पन्ध्र
यो दिन अन्य परिकारका साथसाथै विशेष रुपले दही चिउरा खाईन्छ ।
रोपाईं
धान रोप्ने यो पर्व विभिन्न बाजा गाजाको साथमा खेतको हिलो खेलेर र हिलो एक अर्कामा छ्यापाछ्याप गरेर मनाईन्छ । यो दिन बजाईने मुख्य बाजामा नर्सिङ्गा, झ्याली, कलाट, ढल्की र दमाहा पर्दछन् । खेतको हिलोमा खेलेपछि सबैजना जग्गाधनीको घरमा जम्माभई भोज खान्छन् ।
श्रावण (जुलाईअगष्ट)
साउने संक्रान्ती
साउन महिनाको पहिलो दिन विभिन्न परिकारहरु खाएर यो चाड मनाईन्छ ।
घण्टाकर्ण
घण्टाकर्णको दिन विन्दवासिनी मन्दिरको छेउमा घण्टाकर्ण पुतला बनाएर राखिन्छ जहाँ गएर यहाका बासिन्दाहरुले चामल र पैसा चढाउँछन् । यो पुतलामा चामल र पैसा चढाएमा घरमा भुत, प्रेतले प्रवेश नगर्ने र रोग व्याधी नलाग्ने विश्वास गरिन्छ । साँझमा त्यो पुतलालाई तानेर लगी टुँडिखेलको छेउबाट हुत्याईन्छ ।
भाद्र (अगष्टसेप्टेम्बर)
जनै पुर्णिमा
यो दिन सबैले नाडीमा पवित्र धागो बाँध्ने र तागाधारी ब्राम्हणहरुले जनै फेर्ने कार्य गर्दछन् । यो पर्व शुरु हुनुभन्दा पन्ध्र दिन अघिदेखिनै हरेक दिन बेलुकी गाजाबाजा गर्ने र घिन्ताङघिङ नाच नाचिन्छ । यो पर्वको दिन नाचगान गर्ने समूहहरु गएको वर्षपरिवारजन बितेको घरमा गएर झ्याली बजाउने गर्दछन् ।
गाईजात्रा
यो दिन गाईको प्रतीक स्वरुप बाँसको खट बनाई यसमा गाईको फोटो तथा अरु नाना थरिका ध्वजा पताका टाँसिन्छ । यो बाँसको खटलाई एक व्यक्तिले बोक्छन् र यात्रा निक्लन्छ । यो यात्रामा टाकटुके लठ्ठी नाच नाच्दै, झ्याली र ढल्की बजाउँदै स्थानियबासीले भाग लिन्छन् । अरु व्यक्ति जो यो यात्रामा सामेल हुन्छन् उनीहरुलाई साप्रा भनिन्छ ।
बाघ जात्रा
यो जात्राको नामजस्तै यो जात्रामा भागलिने स्थानियवासीहरु कोही बाघ, कोही शिकारी, कोही जोकर (विदुषक) र कोही राजारानीको भेषमा बजार परिक्रमा गर्छन । यी सहभागीहरुले गाउँ पसेको बाघलाई गाउँलेले मारेको नाटक मञ्चन गर्छन ।
दही जात्रा
यो जात्राको दिन युवाहरु मृगको छाला लगाई जोगी, सन्यासीको रुप धारण गरी मन्दिर मन्दिरमा गएर घन्टी बजाई अर्चना गर्दछन् । साँझमा बालगोपालको मुर्तीलाई खटमा राखी बजार परिक्रमा गरिन्छ ।
असोज (सेप्टेम्बरअक्टोबर)
दशै (खड्ग जात्रा)
दशैं नेपालको सबैभन्दा ठुलो चाड हो र यो चाड देशका अन्य भागमा जस्तै बन्दीपुरमा पनि पुरै उल्लास र उत्साहका साथ मनाईन्छ । यो चाड दश दिनसम्म चल्दछ । खड्ग मन्दिर परिसरमा यो चाडको बेलामा भव्य अनुष्ठान गरिन्छ र फुलपातीको दिन यहाँ पशु बली चढाईन्छ ।
यहाँका मगर र कामीहरु पवित्र खड्ग लिएर बजार परिक्रमा गर्दछन् र भक्तहरु उक्त खड्गको दर्शन र पुजा गर्दछन् । सैनिक व्याण्ड पनि बाजा गाजासहित उक्त यात्राको पछि पछि हुन्छन । नवमीको दिन पुरानो कोतमा रांगा काटेर बली दिईन्छ र रांगाको शरीरलाई डाँडाबाट फाल्ने चलन छ । दशैको अन्तिम र मुख्य दिन सबैजना आआफ्ना मान्यजनहरुबाट टिका लगाउन र भोज भतेरमा संलग्न हुन व्यस्त हुन्छन् ।
कार्तिक (अक्टोबरनोभेम्बर)
तिहार
तिहारको तीन दिन विशेष उत्साहपूर्वक भव्य रुपमा मनाईन्छ, लक्ष्मी पुजा, म्ह पुजा र भाई टिकाको रुपमा । लक्ष्मी पुजा वा गाई पुजा र म्ह पुजाको दुई दिन केटा केटीहरु समुह बनाई घर घरमा गई भैलो र देउसी गीत गाउँदै रोटी, फलफूल र दक्षिणा माग्दछन् र बदलामा आशीष दिन्छन् । यी तीन दिन सम्पुर्ण घरहरुमा बत्ती बल्दा पुरै बजार उज्यालो हुन्छ ।
अश्वबोटे
यो दिन विशेष गरेर महिलाहरुले फूल, ऐना, पोते र चुरा उनेर माला बनाउँछन् र स्थानिय देव देवीको मन्दिरमा धार्मिक विधिपूर्वक चढाउँछन् । अर्कोदिन पुजामा सहभागी सबैजनाले अश्वबोटको पुजा अर्चना गर्दछन् र विभिन्न मिष्ठान्न भोजन खाएर चाड मनाउँछन् ।
भःपुन्ही
यो दिन बन्दीपुरका महिलाहरु ब्रत बस्छन् र भक्ति गीत तथा भजनहरु गाउँछन् । यी महिलाका पुरुषहरु गाउँ डुलेर चामल जम्मा गर्छन र त्यसको पिठोको सेल बनाउँछन् । पाकीसकेका सेलहरु ब्रतालुहरुको गाएन सकीएर उनीहरुलाई बाँडनुभन्दा अघि फूलका बुट्टा बनाएर सजाईन्छ ।
नाशः पुजा
यो पुजाको दिन स्थानीय मन्दिरमा जनावरको बली दिईन्छ र बली दिईएको जनावरको मासु पकाएर प्रसादको रुपमा खाईन्छ ।
मंसीर (नोभेम्बरडिसेम्बर)
यःमरी पुर्णिमा
यो दिन भगवती अन्नपुर्णको पुजा अर्चना गरिन्छ । बाली नालीको मौसममा पर्ने यो चाडमा घरका भकारीहरुको पनि पुजा अर्चना गरिन्छ ।
पौष (डिसेम्बरजनवरी)
पौष पन्ध्र
यो दिन मिठा मिठा भोजन र अनादी चामलले बनेको परिकार खाईन्छ ।
माघ (जनवरीफेब्रुअरी)
माघे संक्रान्ती
माघ १ गते कन्या केटीको पुजा गरेर तथा सेल, तरुल, घ्यू, चाकू तथा मायमरी खाएर माघे संक्रान्ती मनाईन्छ ।
श्री पञ्चमी
यो दिन सरस्वतीको पुजा गर्ने तथा बच्चाहरुलाई पहिलो अक्षर चिनाउने कार्य गरिन्छ ।
फागुन (फेब्रुअरीमार्च)
फागु पुर्णिमा
यो पर्वमा एक अर्कामा पानी छ्याप्ने, पानीले भरेको बेलुनले हान्ने तथा रातो अबीर दल्ने गरीन्छ ।
शिवरात्री
यो दिन शिवभक्तहरु चन्देनी महादेवस्थान, विन्दवासिनी मन्दिर परिसर र तीनधारा महादेवस्थानमा भेलाभएर रातभर धुनी जगाएर शिवको जन्मोत्सव मनाउँछन् ।
चैत्र (मार्चअप्रिल)
चैते दशै तथा रामनवमी
बन्दीपुरका मगरहरु यो चाडलाई विशेष रुपले मनाउँछन् । खड्गदेवी मन्दिरमा यो अवसरमा पशु बली दिईन्छ र पातलीद्वारमा सम्पुर्ण सहभागीहरु जम्मा भएर गीत गाउने, नाच्ने र मनोरन्जन गर्ने गरिन्छ ।
बन्दीपुरका नृत्यहरु
बालुन नृत्य
यो नाचमा विशेषगरी ब्राम्हण जातीका नर्तक/नर्तकीहरु ताली पडकाउँदै गीतको धुनमा नाच्दछन् । एउटा व्यक्तिले पौराणिक रामायण कथाको हनुमानको भेष बनाएर र त्यस्तै अभिनय गरेर सबैलाई मनोरन्जन प्रदान गर्दछ । यो रमाईलो पाटो बाहेक धार्मिक पाटोमा यो नृत्य पवित्र पुराण जस्तै कृष्ण चरित्र, रामायण आदिमा आधारित छ ।
घाटु नृत्य
यो नाचमा विशेष गरेर मगर र गुरुङ्गहरु बढि सरीक हुन्छन् । बैशाख पूर्णिमा मनाउने क्रममा यो नाच नाच्ने गरिन्छ । यो नाच नाच्ने व्यक्ति नुहाई धुवाई शुद्ध भएर विभिन्न फूलका गहनाले सजिई गीत शुरुहुनु अघि आँखा चिम्लेर ध्यान मुद्रामा बस्दछ । जब गुरुआमाद्वारा देउता भाक्दै धार्मिक गीत गाउन शुरुहुन्छ त्यो नर्तक बशीभूत हुँदै जान्छ र विस्तारै जिउ थरथराउँदै नाच्न थाल्दछ । जति जति गीत र नृत्य बढदै जान्छ त्यति नाचको क्रममा तीव्रता आउन थाल्दछ र नर्तक निकै जोशिलो हुदै जान्छ । अन्त्यमा दर्शकहरुले नर्तकलाई समाएर उसलाई होसमा ल्याउन घाँस खुवाउँदछन् ।
पाङदुरी नाच
यो नाच घाटु नाच पछि नाचिन्छ । यो नाचमा महिलाले भाग लिन हुँदैन त्यसैले पुरुषनै महिलाको भेष बनाएर नाच्दछन् । पहाडी मादलु भाकामा यो नाच निकै आकर्षक ढङ्गले नाचिन्छ । यसमा एउटा नर्तकले विदुषकको रुपमा दर्शकलाई हँसाउने काम पनि गरिरहेको हुन्छ ।
सोरठी नृत्य
यो नाच विशेष गरेर मगर र गुरुङ्ग समुदायमा बढि प्रचलित छ । यो नाचमा पनि धार्मिक भाव सहित हास्य रस मिसिएको हुन्छ ।
चुट्का
चुट्का नृत्य होलीको शुरुवातसँगै नाचिन्छ । एउटा गाउँको समूह अर्को गाउँ गएर प्रतिद्वन्दी समुह सँग नाच्दछन् । एउटा समूहमा पुरुष भए भने अर्कोमा महिला हुनु पर्दछ । यो नाचमा नाता पर्ने दुई व्यक्तिसँगै नाच्न पाउँदैनन् । पुरुषहरु मादल र खैजडी बजाउँछन् भने महिलाहरु विशेषगरी नृत्यमा मात्र संलग्न हुन्छन् ।
लाखे नाच
बन्दीपुर बजारको चोकमा यो नाच साउन महिना भरी हरेक रात नाचिन्छ । यो नाचमा दैत्यको मुखौटा लगाएको एउटा व्यक्ति फुर्तिलो हाउ भाउ सहित झ्याली र नगराको तालमा नाच्दछ ।
डोको नाच
खेतीको मौसम सकिएपछि थाकेका कृषकहरुलाई मनोरन्जन दिन यो नृत्य प्रस्तुत गरिन्छ । भदौ महिनातिर नाचिने यो नाचमा महिला र पुरुषको पुतला बनाएको डोको टाउको माथि राखी नर्तकहरु सङ्गीतको तालमा आफ्नो कला प्रस्तुत गर्दछन् ।